दुई महिनापछि डोटीले सिडिओ पायो

Spread the love

डोटी, असोज १७ (ई-रैवार) 

डोटी जिल्लामा दुई महिनापछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी आउने भएका छन् । शनिबार गृह मन्त्रालयले शंकरबहादुर विष्टलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

राजपत्रांकित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् । दार्चुला र अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका विष्ट यसअघि डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी पनि थिए । विष्टले साविकको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा निमित्त प्रशासकको जिम्मेवारी पनि सम्हालेका थिए ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिल खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि डोटी प्रमुख जिल्ला अधिकारीविहीन भएको थियो ।

राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेको डोटीमा खनालको सरुवा भएपछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले निमित्त भएर काम गर्दै आइरहेकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी आउने भए पनि जिल्ला प्रशासन कार्यालय डोटीमा अधिकृतहरुको दरबन्दीमा भने पदपूर्ति भएको छैन । दुई अधिकृतको दरबन्दी रहेको जिल्लामा एक अधिकृत पद लामो समयदेखि रिक्त छ । प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल साउन २८ गते सरुवा भएर गएपछि दरबन्दी रिक्त भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा राजपत्र अनंकित प्रथम श्रेणी -नासु)को सात दरबन्दी छ, जसमा पाँच रिक्त छन् । त्यस्तै राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार)का चार दरबन्दीमध्ये तीन रिक्त छन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भएको छ । अनलाइनखबरबाट