काठमाडौँ, भदौ २८ (ई-रैवार)
कोरोनाका कारण विदेशमा अहिलेसम्म २ सय ४३ नेपालीको मृत्यु भएको छ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म विदेशका विभिन्न १६ मुलुकमा २ सय ४३ नेपालीको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता मात्रै कोरोना सङ्क्रमणका कारण थप ४३ नेपालीको निधन भएको पुष्टि भएको छ ।
गत मार्च महिनायता मात्रै साउदी अरबमा ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले जनाएको छ । यो सँगै साउदी अरबमा मात्रै कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिंह राजपुतले जानकारी दिएका छन । यो साता कतारमा पनि थप २ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमणदर सामान्यरूपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन् ।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।
यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १ सय २० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ३७ हजार ५ सय २४ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७० दशमलव ६ प्रतिशत हो । हालसम्म नेपालमा ३ सय ३६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५ सय ७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनाको नेपालीमा सङ्क्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७ सय १७ जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या औसत ७८ दशमलव सात प्रतिशत रहेको छ ।
६१ हजार ७ सय १० को उद्धार
कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० नेपालीको उद्धार गरिएको छ ।
साउदीमा ६० शव अलपत्र
साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय नेपालीहरुको शव नेपाल ल्याइएको छ ।
गैरआवासीय नेपाली सङ्घको अनुरोध
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गर्नुभएको छ । विदेशमा पिसीआर परीक्षण गराएर नै स्वदेश जाने भए पनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा सापकोटाले आग्रह गरेका छन ।
सङ्क्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्नेजस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उनले अनुरोध गरे । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतीक्षा गर्न र त्यसका लागि आवश्यक पिसीआर परीक्षण समयमै गर्न समेत डा. सापकोटाले आग्रह गरेका छन ।
रासस


