प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षी मोदीलाई शुभकामना

Spread the love

काठमाडौं, असोज १ (ई-रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत सो शुभकामना दिएका हुन् । शुक्रबार देउवाले मोदीलाई शुभकामना दिँदै उनको सुस्वास्थ्य र सफलताको कामना गरेका छन्।

मोदीले आज ७१औं जन्मदिन मनाउँदै छन्। मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ।

बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उनको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यसका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।

२० वर्षअघि मोदीले पहिलो पटक अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री सम्हालेका थिए। उनको जन्मदिन र पहिलो पटक मुख्यमन्त्री भएको दिनसम्म भाजपाले विभिन्न कार्यक्रम गर्न लागेको हो।

मोदीको जन्मदिनका अवसरमा जिल्लास्तरमा पार्टी कार्यकर्ताले रक्तदान गर्ने, मोदीको जीवनी प्रदर्शन गर्ने लगायत कार्यक्रम गरिनेछन्।

उनको जन्मदिनको अवसरमा वाराणसीको भारत माला मन्दिरमा ७१ हजार दीयो जलाउने, धन्यवाद मोदीजी लेखिएका १४ करोड रासन झोला बाँड्नेलगायत कार्यक्रम पनि गरिनेछन्।

मोदी सन् २०१४ मा भारतका प्रधानमन्त्री बनेका थिए।