दार्चुला तुइन घटनाबारे छानबिन समितिले बुझायो प्रतिवेदन, एसएसबीको उपस्थितिमा घटना भएको ठहर

Spread the love

काठमाडौं, भदौ १५ (ई-रैवार)

दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणलाई समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।

छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो ।

छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’