अछाममा बलात्कारका घटना बढे

Spread the love

अछाम, भदौ १२ (ई-रैवार) 

अछाममा बलात्कारका घटना बढेका छन् । एकै साता एउटै नगरपालिकाकका ३ जनालाई बलात्कार र जबरर्जस्ती करणीको आरोप लागेको छ । उक्त आरोपमा मुद्दा दर्ता गराएपछि जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक जनक बोहराका अनुसार बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका २४ वर्षीय जनक बटाला र २५ वर्षीय महेन्द्र रावललाई पक्राउ गरिएको छ । बटालाले भदौ ५ गते स्थानीय मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै जंगलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा उनीहरूलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै रावलले पीडितलाई मर्का पर्ने गरी बटालालाई कसुर गर्न दुरुत्साहन गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।

यस्तै भदौ ३ गते पञ्चदेवल विनायक नगरपालिका–३ को गढीकोटमा बाख्रा चराउन गएका बेला बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय गोविन्द शाही पक्राउ परेका छन् । पीडितले दिएको जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए । ‘कार्यालयमा जाहेरी आएकै दिनदेखि आरोपीलाई पक्राउ गरेर फरकफरक घटनाका ३ जनामाथि अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘मेडिकल रिपोर्टको लागि स्वाब संकलन भएको छ । काठमाडौं लिएर जानु पर्ने हुन्छ । टोली तयार गर्दैछौं ।’ पक्राउ परेका तीनैजनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्लामा महिला हिंसा, यौनजन्य क्रियाकलाप र आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा अभियान सुरु गरेको छ । तर पनि आर्थिक वर्ष २०७४/०७५ मा १३ , २०७५/०७६ मा ७, २०७६/०७७ मा १८, २०७७/०७८ मा १७ र चालु आर्थिक वर्षमा ४ वटा बलात्कार तथा जबरर्जस्ती करणीका घटना घटेको प्रहरी निरिक्षक बोहराले बताए ।

जिल्ला प्रहरीले टोलटोलमा प्रहरी परिचालन गरी महिला हिंसा तथा बलात्कार न्यूनीकरणबारे चेतनामूलक कार्यक्रम गरिरहेको छ । प्रहरी सक्रियता तथा विभिन्न चेतनामूलक कार्यक्रम गरे पनि जिल्लामा बलात्कारका घटनामा भने कमी आउन सकेको छैन । पछिल्लो समय सामाजिक सञ्जालका कारण बलात्कारका घटना बढेको प्रहरीको बुझाइ छ । अन्जान व्यक्तिसँग सामाजिक सञ्जालमा सम्बन्ध बढाउने र घुलमिल हुँदै अन्तिममा आपसमा मन फाटेपछि महिला बलात्कृत हुने क्रम बढेको निरिक्षक बोहराको बुझाइ छ । उनका अनुसार प्रहरीमा दर्ता भएका बलात्कारका घटनामध्ये केही घटना सामाजिक सञ्जालसँग जोडिएका छन् । उनले सञ्चार माध्यमका रूपमा प्रयोग हुँदै आएको सामाजिक सञ्जालले पछिल्लो समय सामाजिक अपराध बढाउदै आएको छ । कान्तिपुर दैनिकबाट