कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सार्वजनिक गर्न दिए ‘अल्टिमेटम’

Spread the love

काठमाडौँ,  भदौ ५ (ई-रैवार)

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सार्वजनिक गर्न ‘अल्टिमेटम’ दिएका छन् । कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सूचीका त्रुटि यही भदौ ७ गतेभित्र सच्याउन पार्टी सभापति शेरबहादुर देउवालाई यही भदौ ७ गतेसम्मको ‘अल्टिमेटम’ दिएका हुन ।

शनिबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूले बैठक गरी विधिसम्मत ढंगले त्रुटि सच्याएर क्रियाशील सदस्यता सार्वजनिक नगरे भदौ ८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनशन बस्ने चेतावनी उनीहरुले चेतावनी दिएका छन् । उनीहरूले पार्टी संस्थापनले क्रियाशीलमा अनियमितता गरेको गम्भीर आरोप समेत लगाएका छन् ।

उनीहरूले शनिबार पार्टी सभापति देउवालाई इमेलमार्फत् जिल्ला सभापतिहरुले तीन बुँदे माग पठाएका छन् ।

‘हाम्रो उपरोक्त मागहरुलाई सम्बोधन गर्नेगरी यही भाद्र ७ गतेभित्र आवश्यक कदम नचालिएमा भोलिपल्टदेखि (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनशन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी बाध्य हुने व्यहोरा जानकारी गराउँछौं,’ सभापति देउवालाई इमेलमार्फत् पठाइएको मागपत्रमा लेखिएको छ ।

विज्ञप्तिमा ७७ वटै जिल्लाका सभापतिको एउटै प्रक्रियाबाट निर्वाचन हुने विधानको प्रष्ट व्यवस्थाविपरीत निर्वाचन निर्देशिका जारी गरिएको भन्दै त्यसले विधिमा विश्वास गर्नेहरूलाई चिन्तित बनाएको उल्लेख छ ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको छ ।

यस्तो छ  जिल्ला सभापतिहरुले पठाएको पत्र

श्रीमान सभापति ज्यू

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति 

वीपी स्मृति भवनवीपीनगरललितपुर ।

मिति: २०७८-०५-०५

विषय: माग संवोधनका लागि हार्दिक अनुरोध 

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी बिषयलाई लिएर देशभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आएका हौं । वडा तहबाट निर्णय भइआएका नामहरु हटाउनेठाडै केन्द्रबाट जथाभावी नामहरु थप्ने र झिक्ने तथा शतप्रतिशत भन्दा बढी नामहरु इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं ।  यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कताझन् पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक ब्यक्तिको स्वार्थसिध्दि गर्नलामो समयदेखि पार्टीमा रगत-पसिना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौं संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भइरहेबाट हामी स्तब्ध भएका छौं । त्यसमाथि ७७ वटै जिल्लाका सभापतिको एउटै प्रक्रियाबाट निर्वाचन हुने विधानको प्रष्ट ब्यवस्था विपरीत निर्वाचन निर्देशिका जारी भएबाट हामीलाई थप चिन्तित बनाएको छ।

तसर्थ

१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस् । 

२. क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधिविधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस् ।

३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस् ।

हाम्रो उपरोक्त मागहरुलाई संवोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्नाअनशनलगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने ब्यहोरा जानकारी गराउँछौं। जय नेपाल ।

विनीत 

जिल्ला सभापति एवं साथीहरु