डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु

Spread the love

डडेल्धुरा,साउन २० (ई-रैवार)

डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सुरु भएको छ । नेपाल सरकारले डडेल्धुरा अस्पतालमा अक्जिन प्लान्ट निर्माणका लागि ४ करोड रुपैयाँ उपलब्ध गराएपछि अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको हो ।

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले हाल जडान भइरहेको अक्सिजन प्लान्टको क्षमता दैनिक २ सय सिलिन्डर भन्दा बढी रहेकोले त्यसले डडेल्धुरा अस्पतालमा मात्रै नभई सुदूरपश्चिमभरी नै अक्सिजनको अभाव हुन नदिने बताए ।

डडेल्धुरा अस्पतालमा रहेको पुरानो अक्सिजन प्लान्टको क्षमता दैनिक २७ सिलिण्डर भर्ने रहेको थियो । गत असार मसान्तसम्म अक्सिजन प्लान्ट जडानको काम सक्नेगरी सम्झौता भएको भएपनि नेपाल सरकारले नै सम्झौताको म्याद थप गर्दा केही ढिलाई भएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जगदीशचन्द्र बिष्टले बताए ।

नेपाल सरकारले डडेल्धुरा अस्पतालका लागि आइसियू, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि ६ करोड ८० लाख, एचडीयु स्थापनाका लागि ३ करोड १२ लाख ७० हजार र अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रकम विनियोजन गरेको थियो ।