जसपाको बैठक बस्दै, महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने तयारी

जसपाको बैठक बस्दै, महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने तयारी
Spread the love

काठमाडौँ, साउन १३ (ई–रैवार)

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो १ बजे बस्ने बैठक बस्न लागेको हो ।

जसपा नेता मोहम्मद इस्तियाक राईले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकले नेता महन्थ ठाकुरहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने तयारी भएको बताएका छन् ।

अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै यसअघि कार्यकारिणी समितिमा रहेका नेताहरुलाई हटाउन लागिएको हो ।यससँगै जसपाको कार्यकारिणी समिति ३४ सदस्यीय हुनेछ ।

पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले बहुमत सदस्यको सनाखत गर्दा रेशम चौधरी भने तटस्थ बसेका थिए । उनलाई भने कारबाही नगरिने बताइएको छ ।

हिजो जसपाको कार्यकारिणी समितिको अनौपचारिक बैठक बसेको थियो । बैठकमा नेताहरुलाई हटाउने विषयमा छलफल भएको र आज औपचारिक निर्णय हुने नेता इस्तियाकले जानकारी दिए ।

त्यस्तै, सांसद पदमा रहेकाहरुलाई भने पार्टीमा रहने/नरहने टुंगो लगाउनका लागि केही समय दिने तयारी छ । उनीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भएको बताइएको छ ।