कांग्रेस पदाधिकारी बैठक आज पनि बूढानीलकण्ठमा बस्दै

Spread the love

काठमाडौं, साउन ९ (ई–रैवार)

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। आगामी १४ औं महाधिवेशनलगायतको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्ने भएको हो।

कांग्रेस नेता डा. प्रकाशशरण महतले बिहान ९ बजे कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्ने बताएका छन् । उनले पार्टीको आगामी महाधिवेशनकै विषयमा छलफल बैठक केन्द्रित हुने जानकारी दिए ।

शुक्रबार बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनको काम टुंगो लागिनसकेका कारण कार्यतालिका हेरफेरबारे छलफल भएको थियो। क्रियाशील सदस्यता विवाद टुंग्याउन समय लागेकाले महाधिवेशनको मिति नसर्ने गरी अरु कार्यतालिका भने हेरफेरको विषय बैठकमा छलफलमा हुदै आएको छ । यसबारे आजको बैठकले निर्णय गर्ने सम्भावना रहेको महतले बताए ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो ।

संशोधित कार्यतालिकाअनुसार यही साउन १२ गते गाउँ/नगर वडा अधिवेशन शुरू गरेर क्षेत्र, जिल्ला हुँदै भदौ २ गतेसम्म प्रदेश अधिवेशन सक्नुपर्ने कार्यतालिका निर्धारण गरिएको छ ।