नेकपा महासचिव विप्लवले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल

Spread the love

काठमाडौं, साउन ६ (ई–रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटेर छलफल गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो दुई पक्षबीच छलफल भएको हो ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले ओली सरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन र नेकपाका नेतारकार्यकर्ताको रिहाईबारे प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेका हुन्।

प्रधानमन्त्री र गृहमन्त्रीसँग विप्लवलगायत नेताले भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीलाई भेट्न विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू बालुवाटार पुगेका थिए।

देशको राजनीतिक समस्या विषयमा बहस गर्दै जाने विषयमा छलफल भएको भन्दै चन्द समूहका नेता खड्गबहादुर विश्वकर्माले भने,’सरकार ३ बुँदे सहमतिको कार्यान्वयनमा सकारात्मक । भेटवार्ता प्रभावकारी र महत्वपूर्ण ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा गत फागुन २० गते चन्द समूह र सरकारबीच ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिपछि नेकपा महासचिव नेत्रविक्रम चन्द खुला राजनीतिमा आएका हुन् ।

यसअघि चन्द समूहका नेताहरुले यसअघि लगातारजस्तै सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य लगायतसँग भेटवार्ता गरेका थिए । ती भेटमा ३ बुँदे सहमति कार्यान्वयन र मोर्चा गठनबारे कुराकानी भएको थियो ।