एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, फ्लोर क्रस गर्ने नेपालसहित २२ जनालाई कारबाहीको तयारी

Spread the love

काठमाडौँ, साउन ४ (ई–रैवार) 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्ने भएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा पार्टी विवाद, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल हुने जानकारी दिएका हुन । एमालेको साउन अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेपछि त्यसको तयारीमा आजको बैठक केन्द्रित हुने तामाङले बताए।

तामाङका अनुसार बैठकमा पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा पनि छलफल हुने छ । एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने बताएको छ। नेपाल समूहले तत्काललाई पार्टीका बैठकहरू रोकेर सहमतिका आधारमा मिति तोक्ने प्रस्ताव गरिरहेको छ।

‘एकतर्फी रूपमा बोलाइएको आजको बैठकमा पनि हामी जाँदैनौं,’ नेपालनिकट केन्द्रीय सदस्य मेटमणि चौधरीले भने। विवाद कार्यदलमा सदस्य रहेका  नेपालनिकट केन्द्रीय सदस्य गोकर्ण बिष्टले भने आफूहरू अझै पनि पार्टी एकतावद्ध बनाउन प्रयासरत रहेको बताए।

‘हामी अहिले अप्ठेरोमा परिस्थितिमा छौं तर पार्टी एकतावद्ध बनाउन प्रयास गरिरहेका छौं,’ बिष्टले भने। आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

यस्तै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो । तर मालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।

माधव नेपाल पक्षका ८ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए । यता अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका छन् ।

कार्यालय सचिव तामाङले भने, ‘पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्छौँ ।’ विश्वासको मत दिएकै कुरालाई कारबाहीको विषय बनाउन नपाइने सर्वोच्च अदालतको फैसला रहेका पार्टीको अनुशासन कारबाही गरिने उनको भनाइ छ ।

‘विश्वासको मत दिएको विषयमा सांसद पद खारेज नहोला । तर अन्य विषयमा कारबाही हुन्छ । सांसद पद पनि जान्छ । आजको बैठकले प्रक्रिया पुर्‍याएर अगाडि बढ्छौँ,’ उनले भने ।

एमालेका ३२ मध्ये २२ जनाले देउवाको पक्षमा मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए । विश्वासको मत दिने र तटस्थ बसेकाहरुलाई एकैखाले व्यवहार नहुने उनको भनाइ छ ।

सोमबारको स्थायी कमिटी बैठकले देउवाको पक्षमा मत दिनेहरु एमालेमा नरहने निर्णय गरेको थियो । तर, संविधानको धारा ७६(५ को सरकारलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने र त्यसैआधारमा कारबाही गर्न नपाइने सर्वोच्च अदालतले फैसला सुनाएकाले उनीहरुलाई अरु नै कुनै कारण देखाएर कारबाही गर्ने तयारी एमालेको छ ।

सर्वोच्च अदालतले एमाले ०७७ फागुन २३ मा ब्यूँताएपछि ०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ । तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग अध्यक्ष केपी ओली पक्ष सकारात्मक छैन ।