काठमाडौँ, साउन ४ (ई–रैवार)
सरकारले काठमाडौँ उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सोन खोप अभियान सुरु गर्ने भएको छ। अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि गर्ने भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने जानकारी दिएका हुन ।
खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणर्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहने छन्।
अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो । गत साता कोभ्याक्सअन्तर्गत १६ लाख ३४ हजार डोज खोप अमेरिकाबाट नेपाल आइपुगेको हो।
काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको छ । यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने छ। खोप अभियानको लागि काठमाडाैँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन्।
यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ । केही दिनमै जापानले अष्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेकोले सो खोप आउनबित्तिकै कोभिडसिल्डको पहिलो डोज खोप लगाई दोस्रो डोज लगाउन नपाएकालाई दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
साथै यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने छ। खोप अभियानको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन्। खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमबारदेखि नै खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए।
खोप अभियानको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी खोप केन्द्रमा स्थलगत अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए। यो अभियानमा जोन्सोन एण्ड जोन्सोनको ज्याक्सन खोप एक डोज मात्र लगाए पुग्नेछ।


