काठमाडौँ, असार ३ (ई-रैवार)
जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको जसपाको कार्यकारिणी बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका ९ जना मन्त्रीहरुलाई पाटीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । आज बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी भएका जसपाका बाँकी नेताहरूलाई निष्कासनको निर्णय गरेको हो ।
त्यस्तै बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
साथै बैठकले पार्टीको आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग जाने निर्णय पनि गरेको छ । राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३ अनुसार आधिारिकता दाबी गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिए ।
सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
कानुन व्यवसायीसँग सल्लाह लिँदा पनि आधिकारिकताका लागि निर्वाचन आयोग जान सुझाव दिएका थिए । त्यस्तै, सरकारले बजेटमै गिटी बालुवा निकासी गर्ने उल्लेख गरेको विषयलाई फिर्ता लिन पनि आग्रह गरेको छ । बाढी पीडितहरुलाई उद्धार गर्न तथा राहत प्रदान गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।


