काठमाडौं, जेठ ३० (ई-रैवार)
नेपालमा आइतबार मनसुन सक्रिय बन्ने भएको छ । शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आइतबारसम्म देशभर सक्रिय बन्ने भएको हो ।
हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन अब पश्चिम नेपाल प्रवेश गर्ने चरणमा रहेको छ ।
नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले अहिलेबाट नै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले गत वर्षको तुलनामा यो वषै धेरै वर्षा हुनेभन्दै सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व तयारी गर्न आग्रह गर्दै आएको छ ।
हाल देशमा मनसुनी वायु, स्थानीय वायु र पश्चिमी वायुको मिश्रित प्रभावले ठाउँठाउँमा वर्षा भइरहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । मनसुन देशैभर सक्रिय हुँदै जाँदा अबको तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
आजराति देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


