पोखरा, जेठ २९ (ई-रैवार)
गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि विपक्षी गठबन्धनकातर्फबाट पोखरेलले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको हो ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरिएलगत्तै नेपालीले शुक्रबार ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बुझाएका हुन् ।
गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख पौडेलसमक्ष बुझाइएको छ ।
विपक्षी गठबन्धनले बुझाएको ३१ सांसदको हस्ताक्षर सनाखत गरिएको छ । पोखरेलले आजै सपथ गराउन माग गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पु¥याएर निर्णय गर्ने बताएकी छन् ।
काँग्रेस सांसद विष्णु लामिछानेका अनुसार मुख्यमन्त्रीको सपथसँग तीन दल, (काँग्रेस, माओवादी र जसपा)बाट एक/ एक समेटेर मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।
पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गरेपनि राजमोले भने सरकारमा सहभागी नहुने नीति लिएको छ । विशेष गरी मन्त्रालयको भागबण्डाका विषयमा काँग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । मन्त्रीका आकांक्षी पनि काँग्रेस र माओवादीमै धेरै छन् । जसपालाई एउटा मन्त्रालय दिइने भएकाले खासै समस्या छैन ।
पोखरेल रामचन्द्र पौडेल निकट रहेकाले काँग्रेसको केन्द्रीय सन्तुलन अनुसार मन्त्री छनोट गरिने काँग्रेसका एक सांसदले सुनाए । पोखरेलले पनि पार्टीको सबै पक्ष मिलाएर अगाडि मन्त्री छनोट गर्ने सोचमा रहेको उनको भनाइ छ ।
नवलपरासी निर्वाचन क्षेत्र भएका काँग्रेस महामन्त्री शशांक कोइरालासँग पनि राम्रो सम्बन्ध भएका ७१ वर्षीय पोखरेल काँग्रेसमा ‘सर्वमान्य’ नेताका रुपमा परिचित छन् । त्यसैले पोखरेलाई प्रेदश संसदीय दलको नेतादेखि मुख्यमन्त्री बनाउने विषयमा पनि पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै नाइनास्ती गरेका छैनन् ।
तर काँग्रेसले पाउने अधिकांश मन्त्रीमा आफू निकटलाई पठाउने देउवा पक्षको तयारी छ । स्राेतका अनुसार काँग्रेसबाट मन्त्री बन्नेमा कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दु थापा, प्रकाशचन्द्र दवाडी, ललितकला गुरुङ, डोबाटे विश्वकर्माको नाम चर्चामा छ ।
यसमा पनि सबैभन्दा बलियो सम्भावना खड्का र थापाको रहेको बताइएको छ । उनीहरु दुबै जना काँग्रेस सभापति देउवानिकट मान्छिन् । तत्कालीन अखण्ड पार्टीबाट खड्का संघीय सरकार कै महिला तथा बालबालिका मन्त्री नै बनेका थिए ।
खड्काले संसदीय दलको नेतामा दाबी गरेपनि पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन देउवा अन्तिमा ब्याक भएपछि पौडेल पक्षीय पोखरेल दलको नेता बनेका थिए ।
०७४ को आम चुनावअघि अखण्ड पार्टी काँग्रेसमा समाहित गराएका खड्का गण्डकीमा नयाँ सरकार बनाउन काँग्रेसद्वारा गठित वार्ता टोलीका संयोजक समेत हुन् । यस्तै माओवादी केन्द्रबाट रामजी बराल, दीपक कोइराला र गायत्री गुरुङको नाम चर्चामा छ ।
गण्डकी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान पनि राम्रो मन्त्रालय पाए सरकारमा जाने मुडमा रहेको बुझिएको छ ।
तत्कालीन नेकपाको एकल सरकार रहेका उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । नाम विवादमा फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि चैत २५ गते मात्र चुमानसहित भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका थिए । यता जसपाबाट हरिशरण आचार्य सरकारमा जाने पक्का छ ।
बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मागेको विश्वासको मतको विपक्षमा ३० मत परेको थियो । नेपाली कांग्रेसको १५, नेकपा माओवादी केन्द्रको ११ ९सभामुखबाहेक०, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ जना गरी ३० सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए । तर बहुमत पुग्न ३१ मत आवश्यक थियो ।
नवलपरासी कांग्रेसको नेतृत्वमा १९ वर्ष
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको क्षेत्र नम्बर १ ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
तनहुँको कांग्रेस राजनीतिमा सक्रिय गोवर्द्धन शर्माका माहिलो छोरा पोखरेल झण्डै तीन दशक नवलपरासीको राजनीतिमा सक्रिय रहे ।
कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बन्नुभएका पोखरेलले १९ वर्ष नवलपरासी कांग्रेसको नेतृत्व सम्हालेका थिए ।
तनहुँको तनहुँसुरबाट बसाइँसराइ गरी नवलपरासी आएका पोखरेल कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य समेत बने ।
वि.सं २०२९ देखि २०३६ सम्म अध्यापन पेशा अंगालेका उनले प्रजातान्त्रिक आन्दोलनका निम्ति ०३७ र ०४६ सालमा जेल जीवन समेत ब्यतित गरेका थिए । २०४८ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेवारसमेत बनेका उनी दुवै निर्वाचनमा पराजित भएका थिए ।


