धनगढी, जेठ २७ (ई-रैवार)
सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको बताएको हो ।
बजेट ल्याउनु भन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष केही ढिलो भएको छ । राजनीतिक उत्तारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको थियो ।
संशोधित अध्यादेशमा अगामी नीति तथा कार्यक्रम ल्याउन कुनै समय सीमा राखिएको छैन । प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।


