असार १ गते देखि विद्यार्थी भर्ना सुरु, केही दिनभित्र एसईई परीक्षाको मिति तय हुने

Spread the love

काठमाडौँ, जेठ २३  (ई-रैवार)

आगामी असार १ गते देखि विद्यार्थी भर्ना सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका हुन् ।

छलफलमा मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले तत्काल देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका हुन् । ‘शैक्षिक असार १ देखि हुने भएकाले नयाँ भर्ना पनि त्यही दिनदेखि सुरु हुन्छ,’ उनले भने ।

मन्त्री श्रेष्ठले सबै निकायलाई बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गरी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने गरी लाग्न सुझाव दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्ने बताए । सचिव थपलियाले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुनर्निर्माण हुने बताउँदै उनले त्यसका लागि योजना निर्माण भइरहेको जानकारी गराए । विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगीन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपूर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयार गरिरहेको पनि उनले बताए ।

केही दिनभित्र एसईईको परीक्षाको मिति तय हुने

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताए । मन्त्रालयमा भएको छलफलमा उनले गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी पूरा हुन लागेको जानकारी छन् ।