धनगढी, जेठ २३ (ई-रैवार
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहले आइतबार बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष ओलीलाई जवाफ पठाएका हुन् ।
अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन्। तर शाहले जवाफमा के लेखेका छन् भन्ने कुरा नखुलाइएको उनले बताए ।
सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए। शुक्रबार एमाले अध्यक्ष ओलीले पार्टीको स्थायी कमिटीको निर्णय विपरीत काम गरेको भन्दै शाहलाई ४८ घण्टाको समय दिँदै स्पष्टीकरण सोधेका थिए ।
पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्नु र पार्टी एकता विरोधी काम गर्दै आएको भन्दै शाहलाई अध्यक्ष ओलीले ८ प्रश्नको जवाफ मागेका थिए । चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशन गर्ने चेतावनी समेत ओलीले दिएका थिए ।
१० जेठमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलमा एमाले माधव नेपाल पक्षको बहुमत रहेका कारण १२ जेठमा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिएको थियो ।


