काठमाडौँ, जेठ १९ (ई-रैवार)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बोलाइएको हो।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार आजको बैठकमा के-के विषयमा छलफल हुने भन्ने खुलाइएको छैन। मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । हिजोको बैठकले स्पष्टीकरण सोधिएका खनाल–नेपाल समूहका नेताहरुबारे कुनै निर्णय लिएन ।
बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ ।
नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै ठोस प्रगति भइनसकेको बताएको छ। सोमबार राति कुराकानी भएको हो त्यसयता कुनै प्रगति भएको छैन,’ नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले भने।
एमालेको विवाद उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई निस्कासन गरेका छन् । थप १२ जनालाई त्यसैदिन २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । तर मंगलबारको बैठकले यसबारे कुनै निर्णय गरेन ।
७ जेठमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए ।
संविधानको धारा ७६ ९५० अनुसार देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका एमाले सांसदहरुलाई ओलीले कारबाही प्रक्रिया अगाडि बढाएका छन् । २३ मध्ये तीन जना भने आफ्नो निर्णयबाट पछि हटे पछि उनीहरुलाई स्पष्टिकरण सोधिएको छैन ।


