काठमाडौँ, जेठ १७ (ई-रैवार)
कांग्रेसले सदस्यता वितरण र नवीकरण नामावली सहित वेवसाइटमा सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले ६१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकेर नामावली नै वेवसाइटमा सार्वजनिक गरेको हो।
कांग्रेसका सदस्यता छानविन समितिका सचिव केशव रिजालले अहिलेसम्म ७ लाख ६१ हजार ८२ जनाको नाम कांग्रेसको केन्द्रीय सफ्टवेयरमा इन्ट्री भइसकेको बताएका छन् ।
अहिलेसम्म कूल २०७ स्थानमध्ये १०१ स्थानबाट इन्ट्री गरिएका क्रियाशील सदस्यको नामावली वेवसाइटबाट सार्वजनिक गरिसकिएको छ । बाँकी १०६ स्थानबाट क्रियाशीलको नामावली पार्टीको सफ्टवेयरमा इन्ट्री गर्ने काम भइरहेको रिजाल बताउँछन्। जेठ २५ गतेभित्र इन्ट्री नगरे सफ्टवेयर नै बन्द गर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसले १० लाख क्रियाशील सदस्ता पुर्याउने तयारी गरेको छ। अब १६ जिल्लाका क्रियाशील सदस्यको इन्ट्री गर्न एक सातासम्म समय दिइएको सचिव रिजालले बताए ।
अहिलेसम्म नयाँ क्रियाशील सदस्य ३ लाख ९३ हजार आठ सय ३५ छ। नवीकरण गरिएका सदस्य ३ लाख ६७ हजार २ सय ४७ जना छन्।
विभिन्न १५ स्थानबाट क्रियाशीलको इन्ट्रीमा ढिलाइ भइरहेको छ। प्रदेश नम्बर २ को बारा तथा सप्तरी र बागमतीको सिन्धुपाल्चोकबाट इन्ट्रीका काम धमाधम हुन नसकेको कांग्रेसले जनाएको छ।
क्रियाशील सदस्य नै पार्टीका तल्ला निकायका अधिवेशनको मतदाता हुन्। यिनैबाट क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशन प्रतिनिधि बन्छन् र उनीहरूले नै केन्द्रीय कार्यसमिति चुन्छन्।
कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ। कोरोना महामारीका कारण कसरी महाधिवेशन गर्ने भन्नेमा बहस जारी नै छ।



