धनगढी, जेठ १४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् फेरबदल भएको छ। नेकपा एमाले भित्र अन्तरिक विवाद परेको समयमा मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराएका छन्।
त्यस्तै, सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
अब सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल ११ सदस्यीय बनेको छ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
पार्टि भित्र आनतरिक विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् ।
राजीनामा लगत्तै एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि उनले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।



