काठमाडौँ, जेठ १३ (ई-रैवार)
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको उद्गमस्थल पत्ता लगाउन गुप्तचर संस्थाहरुलाई निर्देशन दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारेको अनुसन्धान तीन महिनाभित्र टुंग्याउन गुप्तरचर निकायका प्रमुखलाई निर्देशन दिएका हुन ।
सीएनएन र बीबीसीमा प्रकाशित समाचारका अनुसार बाइडेनले गुप्तचर संस्थाहरुलाई यस्तो निर्देशन दिएका हुन् । गुप्तचर संस्थाहरुले यसअघि पनि प्रतिवेदन बुझाएका थिए । तर एकमत हुन नसकेपछि उनले फेरि अर्को निर्देशन दिएको समाचारमा उल्लेख छ ।
चीनको वुहानस्थित प्रयोगशालाका सोधकर्ताहरू महामारी फैलनुअघि नै विरामी परेको तथ्य सार्वजनिक भइरहँदा अमेरिकी राष्ट्रपति बाइडेनले त्यसको अनुसन्धान छिटो टुंग्याउन निर्देशन दिएका हुन् ।
आफ्नो अध्ययन क्षमता बढाएर ९० दिनभित्र आफूलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्य मार्फत निर्देशन दिएका हुन् । सन् २०१९ को डिसेम्बर अन्तयमा चीनको हुवेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता विश्वभर कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भएको छ ।
विश्वभर नै महामारीको रूप लिइरहेको कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाले पारदर्शी छानविनका लागि डब्ल्युएचओलाई पनि आह्वान गरिसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार वुहानको प्रयोगशालाबाट लिक भएको बताइएको छ भने अर्को तर्क त्यहाँको मासु बजारबाट फैलिएको बताइएको छ ।
वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताएका थिए । वैज्ञानिकहरुले भने जनावरबाट मानिसमा भाइरस सरेको हुन सक्ने बताउँदै आएका छन् । तर कतिपयले कोरोना भाइरस वुहान स्थित प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आंशका गर्दै आएका छन् ।


