काठमाडौँ, जेठ १२ (ई-रैवार)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।
काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँका साथै सञ्चार माध्यम तथा सामाजिक सञ्जाललाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।
बैठकपछि महतले भने, ‘न्यायिक लडाइँअनुसार अदालतमा बहस गर्छौं । हामीले नागरिक समाज, राजनीतिक दल, आम नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रमुलुक असंवैधानिक कदमबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सुसूचित गराउन बहस चलाउँछौं ।’न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत थाल्नुपर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीका काम र राष्ट्रपतिको निर्णयविरुद्ध पार्टीपंक्ति र आम नागरिकलाई सोही अनुसार मोबिलाइज गर्ने निर्णय भएको महतले जानकारी दिएका छन् । ‘हामीले संसद विघटनको कदमविरुद्ध नागरिक समाजदेखि लिएर पार्टीलाई पूर्ण रुपमा परिचालन गर्ने काम गर्छौं’, महतको भनाइ छ ।
यस्तै बैठकले तत्काल सडकमा आउनु उपयुक्त नभएको पनि निष्कर्ष निकालेको छ । ‘कोभिड १९ का कारण राजनीतिक लडाइका लागि सडक आन्दोलनमा जान सक्ने अवस्था छैन । नभए लाखौँ मान्छे सडकमा निस्किसक्थे । तत्काल सडकमा जानु उपयुक्त हुँदैन भन्ने बैठकको निष्कर्ष निकालेको छ,’ महत भन्छन् ।
यस्तै काँग्रेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ ।
बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ ।
महतले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भत्र्सना गरेको बताए ।
महामारीमा जनताको दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नुभन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई बैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवंम भत्र्सना गरेको नेता महतले जानकारी दिए ।
काँग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रीत हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।


