एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै, ओली पक्षलाई छैन खबर

Spread the love

धनगढी, जेठ ११ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक आज आकस्मिक रुपमा बोलाइएको छ । एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि आज आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाइएको हो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् । एमालेका प्रदेश सभा सदस्य अमरबहादुर साउदले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । ‘संसदीय दलको नेताज्यूले आज बैठक बोलाउनुभएको छ साउदले भने, ‘बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।’

बैठकको बिषयमा ओली पक्षका सांसदहरुले भने आफुहरुलाई खबर नभएको बताएका छन् । ओलीपक्षीय सांसद तथा पूर्व मन्त्री पठानसिंह बोहोराले संसदीय दलको बैठकबारे आफूलाई केहि जानकारी नभएको बताए । ‘हामीलाई खबर आएको छैन । मैले पनि बाहिर बाट सुनेको छु,’ निवर्तमान भैतिक मन्त्री बोहराले भने ।

प्रदेश सभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् । प्रदेश संसदीय दलका नेता शाह नेता भीम रावल निकट हुन् ।

उनले एमालेको केन्द्रीय कमिटीको निर्देशनको पालन गर्दै सरकारबाट फिर्ता हुने निर्णय गर्छन् वा नहुने त्यो भने हेर्न बाँकी छ ।

बहुमत प्रदेश सभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ । तर पार्टीको निर्देशन पालन नगरेमा प्रदेश सभा सदस्यहरुलाई कारबाही गर्ने चेतावनी एमालेको अर्को पक्षले दिँदै आएको छ ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्‍चिम प्रदेश सभामा एमालेका मात्रै २५ सांसद छन्। नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसद छन्।