धनगढी, जेठ ११ (ई-रैवार)
वन तथा वातावरण मन्त्री प्रेम आलेले अक्सिजनको सिलिन्डरमा आफ्नो फोटो टासेर वितरणको बिषयमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। चीनले अनुदानमा दिएको अक्सिजनको सिलिन्डरमा वन तथा वातावरण मन्त्री आलेले आफ्नो फोटो टासेर वितरण गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको हो ।
चीनले अनुदानमा दिएका अक्सिज सिलिण्डरमा आफ्नो फोटो टासेर मन्त्री आलेले डोटी अस्पताललाई वितरण गरेका हुन्। सोमबार स्वास्थ्य सामाग्री लिएर अस्पताल पुगेका मन्त्री आलेले सिलिन्डरदेखि औषधिका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन्।
मन्त्री आलेले आफू निर्वाचित भएको जिल्ला डोटीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क १ लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत सामाग्री लगेको उनको सचिवालयले जनाएको छ।
मन्त्री आलेले जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा एचडियु बेड, ३० हजार सर्जीकल मास्क र एन्टिजेन किट वितरण गरिएको छ । जिल्लाका नौँ स्थानीय तहलाई पाँच पाँच वटा अक्सिजन सिलिण्डर, दुई दुई वटा एचडियु बेड र ५/५ हजार सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई १ हजारका दरले ६५ हजार मास्क वितरण गरिएको मन्त्री आलेले बताए ।
त्यस्तै मन्त्री आलेले सेति प्रादेशिक अस्पताललाई ५० सिलिन्डर भरिएको अक्सिजन र ५० हजार माक्स हस्तान्तरण गरेका छन्। कार्यक्रममा मन्त्री आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताए । कोरोनाका कारण मुलुकभर जटिल अवस्थाको सृजना भईरहेका बेला मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताए ।
केहि स्वास्थ्य सामाग्री आफैले किनेपनि निला अक्सिजनका सिलिन्डर केहीदिन अघि चीन सरकारले नेपाललाई अनुदानमा दिएको सामाग्री थियो। वैशाख २१ गते २० हजार अक्सिजनको खाली सिलिन्डर चीनबाट नेपाल आएको हो । सोही सिलिन्डरमा अक्सिजन भरेर आफ्नो तस्बिर टासेर मन्त्री आलेले वितरण गरेको खुलेको छ।
यद्धपी आलेको सचिवालयले भने उनले आफ्नै खर्चले किनेको दाबी गरेको छ। स्रोतका अनुसार मन्त्री आलेले आफ्नो खर्चले किनेको नभइ शक्तिको दुरुपयोग गरेर सिलिन्डर लिएको र त्यसमा अक्सिजन भरेर वितरण गरेका हुन्।
कोरोना महामारीबाट जनता मरिरहदा अनुदानको सिलिन्डरमा समेत मन्त्री आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा अहिले चर्को आलोचना भइरहेको छ।


