राष्ट्रपतिको कदमले गणतन्त्रमाथी प्रहार भएको नेपाल पत्रकार महासंघको ठहर

राष्ट्रपतिको कदमले गणतन्त्रमाथी प्रहार भएको नेपाल पत्रकार महासंघको ठहर
Spread the love

काठमाडौं, जेठ ८ (ई-रैवार)  

राष्ट्रपतिले वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले गणतन्त्रप्रति प्रहार भएको नेपाल पत्रकार महासंघको ठहर गरेको छ।

महासंघले संविधानबमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको बताएको हो ।

महासंघका महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरेका छन्।

पत्रकार महासंघले जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले कोरोना महामारीबाट बच्च खोप चाहिएको उल्लेख गरेको छ। अस्पतालहरूमा शय्या, अक्सिजनलगायत सामग्रीको खाँचो रहेको महासंघको भनाइ छ।

यस्तो अवस्थामा जनताको उपचारमा ध्यान दिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिले जालझेलपूर्ण कदम चाल्नु परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको गणतन्त्रप्रति प्रहार भएको महासंघको ठहर छ।

‘राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन्। संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यस अघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको छ,’ उनले भनेका छन्।

महासंघले प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन पनि आह्वान गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले गए राति प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन्।