मैत्रीपूर्ण फुटबल : नेपाल र बंगलादेश पहिलो हाफमा बराबर

मैत्रीपूर्ण फुटबल : नेपाल र बंगलादेश पहिलो हाफमा बराबर
Spread the love

काठमाडौं, मंसिर २ (ई–रैवार) 

नेपाल र बंगलादेशबीच जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा नेपालले पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको छ ।

बल पोसेसनमा जोड दिएको नेपालले केहि आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेको छैन । बंगलादेशको हाफमा पसेपछि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाइ भइरहेको छ ।

बंगलादेशले पनि काउन्टर अट्याकमा गरेको केहि प्रयास सफल हुन सकेन । नेपालका गोलरक्षक किरणले केहि बचाउ गर्दा बंगलादेशका गोलरक्षकले खासै मिहिनेत गर्नुपरेको छैन ।

खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले झन्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक अशरफुल रानाले बचाए । त्यसपछि दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरेपनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा नै खेलाडी परिवर्तन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।

२३ औं मिनेटमा बंगलादेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिरवाट गरेको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । २८ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र सादले उद्दीनले दिएको क्रसलाई अनन्त तामाङले क्लियर गर्दै नेपालको खतरा टारे । ३१ औं मिनेटमा जिबनको क्रसमा सुमन रेजाको प्रहार फितलो हुँदा गोलरक्षक किरण चेम्जोङले सहजै बचाए ।

३३ औं मिनेटमा एरिक विष्टको प्रहारमा अनन्तको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा विश्वनाथ घोषको लामो थ्रोमा गोलरक्षक किरण झुक्किएपनि बंगलादेशले फाइदा उठाउन सकेन । ३९ औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकलाई किरणले बचाए ।

नेपालले सिरिजको उपाधि जित्न यस खेलमा कम्तिमा २ गोलको को जित दर्ता गर्नुपर्ने हुन्छ । नेपालको पक्षमा खेल २-० मा सकिएको खण्डमा भने टाइब्रेकर हुनेछ ।