काठमाडौं, जेठ ६ (ई-रैवार)
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई आज सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।
कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न माग गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।
अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन, नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन र खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण पत्र बुझाएको छ।
सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत सिंहदरबार पुगेका थिए।






