काठमाडौँ, जेठ ४ (ई-रैवार)
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । नेपालमा भारतलाई तहसनहस बनाएको भेरियन्ट नै फैलिएको नयाँ भेरियन्ट पत्ता लागेको पुष्टि भएको हो ।
भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्विसिङ गरिएको थियो ।
मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ ।
हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको छ । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
“विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ,” स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेबार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गराउन भूमिका बढाउन सबैको जानकारी लागि विनम्र अपिल गर्दछौँ ।”



