काठमाडौँ, वैशाख ३० (ई-रैवार)
माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । एमालेका बरिष्ठ नेता नेपालले आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका हुन।
बिहीबार बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको छलफलमा २०७५ जेठ २ गतेको अवस्थामा फर्कने गरी कार्यदल बनाएर विवाद समाधान गर्ने सहमति भएको नेता नेपालले जानकारी दिए ।
दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए ।
“फागुन २८ र त्यसपछि भएका निर्णय फिर्ता गर्ने, सवोच्चको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुर्याउने । पाटीलाई नयाँ ढंगले अघि बढाउने भनेर कुरा अघि बढाउने । उनले भने ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई टर्यो ।’ मिल्ने दिशामा अघि बढाउछौँ। अब कार्यदल बनाउँछौ” नेपालले सञ्चारकर्मीसँग भने ।
एमाले विवाद उत्कर्षमा पुगेका बेला दुई नेताबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ ।
नेता नेपालकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ । नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।


