काठमाडौं , वैशाख २९ (ई-रैवार)
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुनेगरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव अगाडि सारेका हुन ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार विहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउनपर्नेमा जोड दिए । देशको संकट हल गर्न उनले चार वटा प्रस्ताव पनि अगाडि सारेका छन् ।
भट्टराईले पूर्वप्रधानमन्त्रीहरू निर्देशक रहेको एउटा समिति बनाउन सकिने विचार प्रस्तुत गरेका छन् । र, एक वर्षभित्रै ‘अर्ली इलेक्सन’मा जान सकिने पनि बताएका छन् ।
“देशको संकट हल गर्न यसो गरौं : १) धारा ७६(२) बमोजिम सबै दलको सहभागिता र वर्तमान, पूर्व प्रमबाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, २) दलका प्रमुख, पूर्वप्रम रहेको निर्देशक समिति, ३) साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ.) लागु ४) एक वर्षभित्र चुनाव,” ट्विटमार्फत् उनको प्रस्ताव छ ।
‘देशको संकट हल गर्न यसो गरौं:१.धारा ७६ (२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं; २.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति; ३.साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू ४.एक बर्षभित्र चुनाव!,’ भट्टराईले ट्वीटरमा लेखेका छन्।


