एनएसएल प्लेअफ : काठमाडौं र धनगढीको फाइनल पुग्ने लक्ष्य

एनएसएल प्लेअफ : काठमाडौं र धनगढीको फाइनल पुग्ने लक्ष्य
Spread the love

काठमाडौं, वैशाख २८ (ई-रैवार)

नेपाल सुपर लिग (एनएसएल) को प्ले अफका खेल आज सुरु हुँदैछन् । खुकुरी नेपाल सुपर (एनएसएल) को प्लेअफको पहिलो खेलमा आज (मंगलबार) लिगको शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुनेछ ।

यस खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ । काठमाडौंले लिग चरणमा धनगढीसँग ३–० को हार बेहोरेको थियो । काठमाडौं सोही हारको बदला लिने लक्ष्यसहित मैदान उत्रदै फाइनल पुग्ने दाउमा हुनेछ ।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले प्ले अफको खेलको लागि उत्साहित रहेको र टोली उच्च मनोबलका साथ मैदान उत्रने बताएका छन् । उनले टोलीको प्रदर्शनमा दिनानुदिन सुधार हुँदै आएको र धनगढीविरुद्ध राम्रो नतिजाको अपेक्षा गरिएको बताएका छन् । यस्तै काठमाडौंका मार्की खेलाडी तथा कप्तान विकेश कुथुले जित्नका लागि नै खेल्ने बताएका छन् ।

काठमाडौंसँग कप्तान तथा मार्की खेलमडी विकेश कुथु र तेज तामाङसँगै राष्ट्रिय टिमबाट खेलेका सन्जोक राई, विश्वास श्रेष्ठ, सुदिल राई, आशिष गुरुङ, छिरिङ गुरुङ, आशिष राई तथा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन् । यस्तै सुदिप शिख्रकार, विश्वास उदास, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, प्रेजेन तामाङ र अमृत श्रेष्ठ टोलीमा छन् ।

विराटनगरविरुद्ध ह्याट्रिक पुरा गरेका मेसौके ओलुमोउ टोलीका लागि मुख्य हतियार हुनेछन् । उनी लिगमा ह्याट्रिक पुरा गर्ने एक्ला खेलाडी हुन् । उनले लिगमा ५ गोल गरिसकेका छन् ।

यता, धनगढी पनि लिगमा पाएको जितलाई निरन्तरता दिदै फाइनल पुग्ने दाउमा हुनेछ । धनगढीका प्रशिक्षक तोपे फुजाले काठमाडौं विरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने र टिमले गोल निकाल्नेमा ध्यान दिने बताएका छन् । उनले काठमाडौंको आक्रमण राम्रो भएपनि हामीले त्यसलाई रोक्न रणनीति बुनिरहेको र फाइनल खेल्ने लक्ष्य राखेर नै मैदान उत्रने बताएका छन् ।

यस्तै धनगढीका कप्तान तथा आइकोनिक खेलाडी किरण चेम्जोङले तयारी गर्ने समय त्यति नरहेपनि मानसिक रूपमा तयार रहेको र खेलको लागि उत्साहित रहेको बताए । उनले लिग र नकआउट राउन्डको खेलमा केही फरक आउने र खेल एकदमै प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

धनगढीसँग आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, अशोक खवास, रुपेश केसी, निशान खड्का, सौजन याख्खा राई, निशान लिम्बु, बुद्ध बल तामाङ, दर्शन गुरुङ र रमेश दंगाल टोलीमा छन् । यस्तै टंक बस्नेत, पुजन उपरकोटी, युद्ध शाही, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा रहेका छन् । विदेशी खेलाडीमा ओलावाले ओलाडिपो आफिज र फ्रान्कलिन कुटे टाल्ला छन् ।

यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा हुने ललितपुर र बुटवल लुम्बिनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १e जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।