काठमाडौं, वैशाख १३ (ई-रैवार)
कांग्रेस सभापति शेरबहादुर देउवाले चाँडै खोपको व्यवस्था गर्न ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन सरकारसँग आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवाले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेका हुन ।
कांग्रेस सभापति देउवाले सोमबार विज्ञप्ति जारी गर्दै आम नागरिकहरुलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको भन्दै यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको देउवाको भनाइ छ ।
‘मित्रराष्ट्र भारतवाट शुरुमै दश लाख निःशुल्क खोप प्राप्त भएको कारण ठूलो राहत महशुस भएको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण हुँदैछ । यस सहयोगका लागि दुवै मित्रराष्ट्रहरूलाई धन्यवाद दिन चाहन्छु । देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझ ठुलो संख्यामा खोपको आवश्यकता छ,’ देउवाले भने ।
देउवाले अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरूलाई बुकिङ भएको संख्या मध्येबाट खोप सुविधा उपलव्ध गराउन पनि सम्वन्धित मित्रराष्ट्रहरूसँग अनुरोध गरे । चाडो भन्दा चाडो आवश्यक खोपको व्यवस्था मिलाउने तर्फ ठोस योजना सहित कुटनैतिक सकृयता बढाउन पनि देउवाले सरकारसँग माग गरे ।
कांग्रेस सभापति देउवाले संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् ।उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
‘देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतीमा बढेको छ भने सक्रमणवाट गम्भीर विरामी भएर आईसियु र भेन्टिलेटरको आवश्यकता पर्नेको संख्या पनि वढ्यो छ । अहिले युवाहरूमा पनि संक्रमण उल्लेख्य रुपमा बढेको छ । संक्रमितहरुको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ,’ विज्ञप्तिमा भनिएको छ ।



