बुटवल, वैशाख २६ (ई-रैवार)
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडीको नेतृत्वमा चारै दलका ४० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। अहिले ७९ सदस्य रहेको प्रदेश सभामा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन्।
अविश्वास प्रस्तावमा माओवादी संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।
यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइए पनि अधिवेशन सुरु हुनु अघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै उनले पुनः बहुमतको सरकारको दाबी गरे।
अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।





