काठमाडौँ, वैशाख २६ (ई-रैवार)
अन्तिम प्रयास गर्दा पनि प्रधानमन्त्री केपी ओली ‘नसच्चिएको’ निष्कर्षसहित एमालेको खनाल–नेपाल समूहका २२ सांसदले राजीनामा दिने निर्णय गरेका छन् ।विभाजनको संघारमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामाको तयारी गरेका हुन् ।
प्रत्यक्ष निर्वाचित २२ सांसदको सो समूहले सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत तयारी अवस्थामा राखेको निकट स्रोतले जनाएको छ । उनीहरू सामूहिक रूपमा संसद्बाट बाहिरिएमा ओलीले विश्वासको मत गुमाउने मात्र होइन, अल्पमतको सरकार बनाउने मौका पनि पाउने छैनन् ।
प्रधानमन्त्री केपी ओलीले विधि मिच्दै पार्टीमा एकलौटी तवरबाट अघि बढेको ठहर गरेको खनाल/नेपाल समूहले उनलाई सुध्रनका लागि भन्दै अन्तिम मौका दिएको छ । आज दिनभरसम्म ओलीले लचकता नदेखाए बेलुकीसम्म सामूहिक राजीनामा बुझाउने तयारी खनाल/नेपाल समूहको छ ।
ओली र सो समूहका नेताहरूसँग पटक–पटक भएका छलफल निष्कर्षमा नपुगेपछि शनिबार अपराह्नदेखि लगातार ६ घन्टा खनाल–नेपाल समूहका नेताहरूको बैठक बसेको थियो । राति ९ बजेसम्म बसेको बैठकको निष्कर्ष छ, ‘महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर पार्टी एकता तहसनहस पारेका ओलीलाई संसद्मा विश्वासको मत दिनु पार्टी र लोकतन्त्रका लागि घातक हुनेछ, त्यसैले ओलीलाई सत्ताच्युत गर्न संसद्बाट बाहिरिनु अनिवार्य भएको छ ।’
नेपाल समूहका करिब ३४ सांसद छन् । तर, समानुपातिक सांसदले राजीनामा दिएमा ओलीले तत्कालै नयाँ नियुक्त गर्न सक्छन् । त्यसैले प्रत्यक्ष निर्वाचितले मात्र राजीनामा दिने समझदारी भएको बैठकका सहभागीहरूले बताए ।
शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । राजीनामा बुझाउनअघि स्थायी कमिटी सदस्यहरूबीच भर्चुअल माध्यमबाट छलफल हुने नेता युवराज ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।


