बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दीले सङ्क्रमणको जोखिम

बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दीले सङ्क्रमणको जोखिम
Spread the love

बैतडी, वैशाख २५ (ई-रैवार)

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ।

जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन्। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए। कैदीबन्दी बढी हुँदा कोरोना सङ्क्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ।

उनले भने, “बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको छ। ” कारागारमा अहिले ३८ कैदी र ३३ थुनुवा छन्। भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदीबन्दीहरुको बसोबासको व्यवस्था मिलाइएको छ।

उनले भने,“ सङ्क्रमणको जोखिम बढ्दै गएको छ तर हालसम्म एकजनामा पनि सङ्क्रमण देखिएको छैन।” कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा सङ्क्रमणको जोखिम हुने भएकोले भेटघाट बन्द गरिएको छ। २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ। रासस