काठमाडौं, वैशाख १३ (ई-रैवार)
काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ । कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।
सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
वैठकमा सहभागी एक अधिकारीका अनुसार निषेधाज्ञामा यायायात पूर्ण रुपमा बन्द गरिनेछ । तर बैंक र सरकारी कार्यालय भने खुल्नेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।
अत्यावश्यक र तोकिएका कामबाहेक निस्कनेमाथि कडाइ गरिनेछ । खाद्यान्नका पसल खुल्नेछन् । स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुनी दायरामा ल्याइनेसमेत सहमति भएको छ । यसबाहेक निषेधाज्ञामा खोल्न पाइने र नपाइने विषयमा छलफल जारी छ । एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्।
वैठकमा सहभागी एक अधिकारीले भने,“विस्तृत कुरा सूचनामार्फत सार्वजनिक भैहाल्छ । तर निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने गराउने कुरा भएको छ । अहिलेको महामारी विगतको भन्दा डरलाग्दो देखिएको छ । यसबारे आगामी दिनमा थप कडा निर्णय लिनुपर्ने हुनसक्छ ।”
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।


