काठमाडौं, वैशाख ९ (ई-रैवार)
त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दैछ । नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको हो ।
टस जितेको मलेसियाले नेपाललाई ब्याटिङको निम्ता दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मलेसिया टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपाल यसअघि नै फाइनल पुगिसकेको छ भने मेलेसिया सिरिजबाट बाहिरिसकेको छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । आजको खेल जितेमा नेपाल शीर्षस्थानमा पुग्ने छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ । नेपालले यहि सिरिजको पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो ।
आजको खेलमा नेपालका मिडयम पेस बलर कमलसिंह ऐरीले डेब्यू गरेका छन् । नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । साहब आलम र अभिनाष बोहराको ठाँउमा कमलसिंह ऐरी र सुसन भारीले मौका पाएका छन् ।
सन्दीप बने टी-२० मा सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी

आजको खेल नेपाली बलर सन्दीप लामिछानेको टि ट्वान्टीको आफ्नो सयौं खेल खेलिरहेका छन् । बिहीबार त्रिकोणात्मक सिरिजअन्तर्गत मलेसियाविरूद्धको खेलमार्फत सन्दीपले टी-२० मा सय खेल पूरा गरेका हुन्।
योसँगै सन्दीप नेपालका लागि सय टी-२० खेल्ने पहिलो खेलाडी बनेका छन्। टेस्ट राष्ट्रको फ्रेञ्चाइज टी-२० लिगका खेल र टी-२० अन्तर्राष्ट्रिय खेललाई टी-२० को मान्यता हुन्छ। बिहीबार मलेसियाविरूद्धको खेल सन्दीपको २५ औं टी-२० अन्तर्राष्ट्रिय खेल हो।
सन्दीपले टेस्ट राष्ट्रका फ्रेञ्चाइज लिगबाट ७५ टी-२० खेल खेलेका छन्। सन्दीप पछि नेपालका लागि सर्वाधिक टी-२० खेल्ने अलराउन्डर पारस खड्का हुन्। पारसले ५६ टी-२० खेलेका छन्।
सन्दीपले २४ टी-२० अन्तर्राष्ट्रिय खेल नेपाली राष्ट्रिय टिमबाट खेलेका छन्। एक खेल भने उनले विश्व-११ टिमबाट खेलेका थिए। सन् २०१८ मे ३१ मा वेस्ट इन्डिज र विश्व ११ टिमबीच भएको खेललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता थियो। विश्व-११ टिममा सन्दीप टिममा समावेश थिए।
सोही खेलबाट सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। सन्दीप राष्ट्रिय टिमबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यू नगर्ने पहिलो नेपाली खेलाडी हुन्। डेब्यू टी-२० अन्तर्राष्ट्रिय खेलमा सन्दीपले एक ओभर मात्र बलिङ गरेका थिए भने विकेट लिन सकेका थिएनन्।
फ्रेञ्चाइज लिगको टी-२० मा डेब्यू भने सन्दीपले आइपिएल टिम दिल्ली क्यापिटल्सबाट गरेका थिए।
सन् २०१८ मे १२ मा रोयल च्यालेन्जर्स बेंग्लोरविरूद्ध खेल्दै उनले टी-२० मा डेब्यू गरेका थिए। सो खेलमा उनले ४ ओभर बलिङ गर्दा २५ रन खर्चिएर १ विकेट लिएका थिए। भारतीय लिग खेलेपछि उनले टेस्ट टिमहरू वेस्ट इन्डिज, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र अस्ट्रेलियाका फ्रेञ्चाइज लिगबाट टी-२० खेले।
टेस्ट टिमबाहेक सन्दीपले हङकङ, युएई र क्यानडाको फ्रेञ्चाइज लिग पनि खेलेका छन्। यी लिगलाई भने टी-२० को मान्यता छैन। तीन वर्षको अवधिमा सय टी-२० खेल पूरा गरेका सन्दीपले टी-२० मा आफ्नो विकेट संख्या १३३ पुर्याइसकेका छन्।
सन्दीपले गत वर्ष टी-२० मा आफ्नो विकेट संख्या सय पूर्याएका थिए। जससँगै उनी नेपालका लागि टी-२० मा सय विकेट लिने पहिलो खेलाडी बनेका थिए।
सन्दीपले टी-२० लिएका विकेटमध्ये ४२ विकेट राष्ट्रिय टिमबाट लिएका छन्। उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा छन्।


