त्रिकोणात्मक सिरिज : नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

त्रिकोणात्मक सिरिज : नेदरल्यान्ड्समाथि नेपालको सानदार जित
Spread the love

काठमाडौं, वैशाख ४ (ई-रैवार)

नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा डेब्यू गरेका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि आसिफ र कुशलले १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित निकालेको हो । आसिफले ३६ र कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा १ छक्कासहित १३ रनमा अविजित रहे । नेदरल्यान्ड्सका जुलियन डेमेले एक विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनायो ।

नेदरल्यान्ड्का मध्यक्रमका ब्याट्सम्यान बास डी लिडेले ४९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । तल्लोक्रममा एन्टोनियस स्टल ९ बलमा २ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे । कप्तान पिटर सीलार १७ बलमा २ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे । पाँचौं विकेटका लागि सिलार र स्टलले अन्तिम १८ बलमा ३४ रनको अविजित साझेदारी गर्दै टोलीलाई मध्यम योगफलमा पुर्याएका हुन् ।

दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओडोवडलाई स्पिनर सन्दीप लामिछानेले १० रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । म्याक्सले ११ बलमा २ चौका प्रहार गरे । सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाका थिए ।

एक समय १२–२ को कमजोर अवस्थामा पुगेको नेदरल्यान्ड्सलाई तेस्रो विकेटका लागि लिडे र एडवार्डसले ६१ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । स्पिनर साहबले १४ औं ओभरको पाँचौं बलमा ओपनर स्कर्ट एडवार्डस्लाई ३० रनमा क्याच गराउँदै आफ्नो टि२० आई कअिरको पहिलो विकेट लिएका थिए । स्कर्टले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगातार दोस्रो शतक प्रहार गर्ने धुनमा स्कर्ट लङअनमा आरिफ शेखबाट क्याच आउट हुन पुगेका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा २२ रन खर्चे । सुरुवाती ३ ओभरमा ५ रन मात्र खर्चेका करणले अन्तिम ओभरमा १७ रन खर्चेका थिए । साहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २५ रन खर्चे ।

आसिफ र कुशलको विश्व कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले टि२० आई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् ।

त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्न कुशल र आसिफले १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । नेपालले १ सय ३६ रनको विजयी लक्ष्य १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर तथा डेब्यूद्धय आसिफ र कुशलले उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए ।

कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहे । पहिलो विकेटका लागि आसिफ र कुशलले १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार निकालेको थियो । कुशल र आसिफ डेब्यू खेलमा सर्वाधिक टि२० आईमा साझेदारी गर्ने खेलाडी बनेका छन् ।

यसअघि डेब्यू खेलमा टि२० आईमा दुई खेलाडीले बनाएको उच्च रन ९० रन थियो । मोजाम्बिकबाट छैटौं विकेटका मलावीविरुद्ध सन् २०१९ मा डामिसो कुवानो र फिलिप कोसाले ९० रनको साझेदारी गरेका थिए । जुन साझेदारी कुशल र आसिफले तोडेका हुन् । तेस्रो स्थानमा दक्षिण अफ्रिका ग्रिम स्मिथ र ज्याक्स कालिसले न्युजिल्यान्डविरुद्ध सन् २००५ मा ८४ रनको साझेदारी गरेका थिए ।

पहिलो ओभरको तेस्रो बलमा खाता नखोल्दै क्याच आउट भएपनि नो बलको कारण जीवनदान पाएका कुशलले त्यसपछि भने खेललाईनै आक्रामक अर्धशतकका साथ सहज जित दिलाएका थिए । पहिलो विकेटका लागि नेपालबाट टि२० आईमा बनेको यो हालसम्मकै उच्च साझेदारी हो ।

पारस खड्का र ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध १ सय ८ रनको ओपनिङ साझेदारी तोडेका थिए । टि२० आईमा डेब्यूमा नेपालबाट अर्धशतक प्रहार गर्ने कुशल दोस्रो र आसिफ तेस्रो खेलाडी बनेका छन् । यसअघि सन्दीप जोराले यूएईविरुद्ध डेब्यू गर्दै ५३ रन जोडेका थिए ।

हाम्रो खेलकुदबाट