पुनर्स्थापित संसदको दोस्रो बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

पुनर्स्थापित संसदको दोस्रो बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा
Spread the love

काठमाडौं,फागुन २६ (ई-रैवार)

पुनर्स्थापनापछि आज प्रतिनिधि सभाको दोस्रो बैठक नयाँबानेश्वरमा बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले केही अध्यादेशहरु पेस गर्ने सम्भावित कार्यसूची छ । जसअनुसार उनले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’, र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’ पेस गर्नेछन् ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेस गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७’, ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७’ पेस गर्ने कार्यसूची तय गरिएको छ ।

यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो। त्यस्तै प्रचण्ड-नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए। जसका कारण सभामुख अग्नि सापकोटाले बैठक मंगलबार फागुन २५ सम्मका लागि स्थगन गरेका थिए।