काठमाडौं, फागुन १९ (ई-रैवार)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी राष्ट्रहितका लागि जुनसुकै जिम्मेवारी लिन पनि तयार भएको बताएका छन् । बुधबार चितवनको रत्ननगरमा पूर्वसांसद एकनाथ राना भाटको १० औं दिनको पूण्यतिथीमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेस पद ओगट्नकै लागि सत्तामा नजाने उल्लेख गर्दै राष्ट्रहितका लागि जुनसुकै जिम्मेवारी लिन पनि तयार भएको बताएका हुन् ।
रानाभाटको १० औँ दिनको पूण्यतिथि कार्यक्रममा सभापति देउवाले काँग्रेसलाई पदको लोभ नभएपनि काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए । ‘नेपाली काँग्रेसलाई पदको लोभ छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन,’ देउवाले भने ।
देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे । आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।
‘तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्नजस्तो लाग्छ । मलाई तपाईंको भनाइबाट त्यही बुझियो ।’ पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उनले , ‘अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ,’ उनले थपे, सत्तासीन नेकपाका केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षले सत्ता सहकार्यका लागि देउवालाई प्रस्ताव गरिरहेका बेला उनले जिम्मेवारी आए पछि नहट्ने बताएका हुन् । उनले रानाभाटको राजनीतिक सङ्घर्षको चर्चा गर्दै एक पटक मन्त्री बनाउने आफ्नो चाहाना पूरा नभएको बताए ।
सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली काँग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । उनले भने, ‘विपक्षी दलको सही भूमिका काँग्रेसले निर्वाह गर्नुपर्छ ।’
सानो सङ्ख्यामा संसद्मा भए पनि कांग्रेसको भूमिका ठूलो र जिम्मेवारीपूर्ण रहेको उनको भनाइ थियो । काँग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नसके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसद्मा बलियो पार्टी बन्ने पनि उनले बताए ।
वरिष्ठ नेता पौडेलले स्व एकनाथ रानाभाटले निष्ठावान रुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नुपर्छ भने । “आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको काँग्रेस मात्र रहेको छ” उनले भने, “काँग्रेसले त्यहीअनुसारको आचरण र व्यवहार देखाउनुपर्छ ।लोकतन्त्रमाथि देशी विदेशी षडयन्त्र भइरहेको पनी उनले बताए ।
काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पु-याएको योगदान सह्रानीय रहेको बताए । रानाभाटको यही फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उनी प्रतिनिधिसभाका पूर्वसांसद थिए ।


