काठमाडौं, फागुन १८ (ई-रैवार)
नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबको महिला फुटबल टोलीका ४ खेलाडीले पाकिस्तानको महिला लिग खेल्ने भएका छन् ।
गोलकिपर एन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गिता राना पाकिस्तान महिला लिग खेल्न जान लागेका हुन् । फागुन ७ गते सम्पन्न महिला राष्ट्रिय लिगमा एपिएफ च्याम्पियन हुँदा सरु सर्वोत्कृष्ट खेलाडी चुनिाएकी थिइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ४ खेलाडीलाई खेल्न जानका लागि एपिएफले स्वीकृति पत्र दिइसकेको छ । उनीहरु सबैले मासा युनाइटेड एफसीबाट खेल्ने मिडफिल्डर सरुले जानकारी दिइन् । लिगका लागि उनीहरु बिहीबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् । पारिश्रमिकबारे भने उनीहरुले केही खुलाउन चाहेनन् ।
लिगका लागि आफूहरु उत्साहित रहेको सरुले बताइन् । ‘पहिलो पटक विदेशमा लिग खेल्न जान लाग्दा उत्साहित त हुने नै भयौं’, उनले भनिन्, ‘यसले हामीलाई अनुभव बटुल्न मद्दत गर्नेछ । यसले हाम्रो क्लब र राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्न सक्छ ।’
सरुले टोलीलाई जिताउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने पनि बताइन् । एन्जिलाले पनि विदेशमा खेल्न जाँदा उत्साहसँगै चुनौती पनि हुने बताइन् ।
महिलातर्फ एपिएफकै सावित्रा भण्डारी र अनिता बस्नेतलाई मात्र विदेशी लिग खेलेको अनुभव छ । दुई वर्षअघि सावित्रा र अनिता सम्मिलित सेथुले आइ लिग जितेको थियो । गत वर्ष भने सावित्रा सम्मलित गोकुलमले आइ लिग जित्दा उनी लिगको सर्वोच्च गोलकर्ता बनेकी थिइन् । चोटका कारण यसपटक सावित्राले भने कुनै पनि प्रतियोगिता खेल्ने छैनन् ।
मार्च ८ देखि अप्रिल ३ सम्म चल्ने लिगको विजेताले १० लाख पाकिस्तान रुपैयाँ प्राप्त गर्ने बताइएको छ । हाम्रो खेलकुदबाट


