काठमाडौं, फागुन १७ (ई-रैवार)
राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन ।
नेपाल सरकारको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका हुन् ।
गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि गत असार १८ गते संसद अधिवेशन अन्त्य गरेको थियो । प्रतिनिधिसभाको वर्षे अधिवेशन अन्त्य भएको ८ महिनापछि अर्को अधिवेशन सुरु हुन लागेको हो ।


