प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै

प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै
Spread the love

काठमाडौं, फागुन १८ (ई-रैवार) 

प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका हुन।

आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या क्षमताको छ । त्यसका लागि उनी बिहान ११ बजे झापाको भद्रपुर पुग्ने कार्यक्रम छ ।

मंगलबार मध्याह्न साढे १२ बजे प्रधानमन्त्री ओलीले विपन्‍न परिवारका लागि त्यहाँको अनारमनी नगरपालिकाले निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण गर्नेछन् ।

लगत्तै उनले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली दिउँसो ३ बजे मोरङको उर्लाबारी पुग्नेछन् र एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ ।

यसपछि प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने कार्यकतालिका छ । आफूले विघटनका लागि सिफारिस गरेको संसद् सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि पनि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दबाब बढे पनि उनले राजीनामा नदिने प्रष्ट पारेका छन् ।

संसद पुनःस्थापनापछि आफू झन् बलियो बनेको बताउने गरेका ओलीको अहिले देश दौडाहा बढेको छ । उदघाटन, शिलान्यासलगायतका कार्यक्रमका लागि उनी व्यस्त हुने गरेका छन् । हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।