कञ्चनपुरमा खैरो हिरोइनसहित तीन भारतीय पक्राउ

कञ्चनपुरमा खैरो हिरोइनसहित तीन भारतीय पक्राउ
Spread the love

महेन्द्रनगर, फागुन १७ (ई-रैवार)

प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार भारतको लख्मिपुर खिरी सम्पूर्णानगरका तीन युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले प्रहरी टोलीले लामो समयदेखि नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका भारत सम्पूर्णानगरका २६ वर्षीय धर्मेन्द्र कुमार (डाक्टर नामले परिचित) लाई पक्राउ गरिएको बताए ।

प्रहरी उपरीक्षक चर्तुवेदीले धर्मेन्द्रसँगै प्रहरीले भारतीय युवक २५ वर्षीय शुभ्म भसिंन र ३० वर्षीय नितिन कुमारलाई नियन्त्रणमा लिएको बताए । प्रहरीले उनीहरुको साथबाट झण्डै १० ग्राम खैरो हिरोइन र रु ४२ हजार ४ सय नगदसमेत बरामद गरेको छ । “डाक्टर नामले चिनिने धर्मेन्द्र लागुऔषध कारोवार गर्ने गिरोहका कुख्यात युवक हुन् ।” उनले भने, “यसअघि पनि थुप्रै घटनामा संलग्न व्यक्ति हो ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान शुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागुऔषध नियन्त्रणका लागि विगत केही महिनायता आफ्नो सक्रियता बढाएसँगै दिनहुँजसो लागुऔषधसहित अभियुक्त पक्राउ गरिरहेको छ ।