काठमाडौं, पुस १० (ई-रैवार)
संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूह सडकमा निस्किएको छ । नेकपाका शीर्ष नेताहरु माइतीघर मण्डलामा भेला भएका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा पुगेका छन् । प्रधानमन्त्रीको कदमको विरोधमा आफूहरु सडकमा आउनुपरेको नेतृ रामकुमारी झाँक्रीले बताइन् ।
उनले संसद् पुनस्र्थापना नभएसम्म सडकमै रहने बताइन् । विद्यादेवी भण्डारी र केपी शर्मा ओलीका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताइन् । उनले आफूहरु पार्टी विभाजन हुनुहुँदैन भनेर लाग्दालाग्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्षकै हर्कतका कारण संविधानको रक्षाका लागि सडकमा आउनुपरेको बताइन् ।
निवर्तनमान मन्त्री शक्ति बस्नेतले नेकपाका दुई तिहाइ सदस्य सडकमा रहेकाले अहिले पार्टीको वैधानिकताका विषयमा बहस गर्नै जरुरी नभएको बताए । उनले प्रधानमन्त्रीले हठात् संसद् विघटन गरेकाले सडकमा आउनुपरेको बताए ।
प्रचण्ड–नेपालको छातीमा नारा : हामी यहाँ छौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु माइतीघर मण्डलामा पुगे । ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका हुन् ।
प्रचण्ड–नेपाल समूहले आज माइतीघर मण्डलामा प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि नेकपा फुटको अवस्थामा पुगेको थियो । बाह्रखरीबाट


