खोपले मात्रै महामारी नियन्त्रण नहुँने, दोस्रो लहरको संक्रमण तीब्र – डब्ल्युएचओ

खोपले मात्रै महामारी नियन्त्रण नहुँने, दोस्रो लहरको संक्रमण तीब्र – डब्ल्युएचओ
Spread the love

काठमाडौँ, मंसिर २ (ई–रैवार) 

कोरोना भाइरस संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक  फेरि आक्रान्त भएका छन् ।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख २८ हजार ९ सय ५ जना कोरोना क्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ४३ लाख १ हजार १ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८ सय  ५८ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख १६ हजार ९ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म ३ करोड ८४ लाख ६३ हजार ९ सय ८२ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले सबैभन्दा बढी अमेरिकामा असर देखिएको छ । त्यहाँ १ करोड १५ लाखभन्दा बढीमा संक्रमण भइसकेको छ । अमेरिकामा मात्रै २ लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यस्तै भारतमा ८८ लाखभन्दा बढीमा संक्रमण भएको छ । भारत विश्वमा धेरै संक्रमित हुने देशको सूचीमा दोस्रो स्थानमा छ । यस्तै धेरै संक्रमित भएको मुलुकको सूचीमा ब्राजिल, फ्रान्स, रसिया, स्पेन क्रमश तेस्रो, चौथो, पाँचौँ र छैठौँ स्थानमा छन् ।

खोपले मात्रै पुग्दैन

विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले जनाएको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, ‘खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’

टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा  स्वास्थ्यकर्मी, उमेर घर्केका ९पाका० व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताए ।

यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए ।