एजेन्सी, कार्तिक २३ (ई-रैवार)
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । दिल्लीका ओपनर शिखर धवन ५० बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । शिम्रन हेटमायर २२ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे । ऋषभ पन्त २ रनमा अविजित रहे ।
दिल्लीले आजको खेलमा मार्कस स्टोइनिसलाई शिखर धवनका साथ ओपनिङ गराउने निर्णय लिएको थियो । जुन निर्णयलाई दिल्लीका ओपनरले सहित सावित गर्दै पहिलो विकेटका लागि ८.२ ओभरमा ८९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर राशिद खानले नवौं ओभरको दोस्रो बलमा स्टोइनिसलाई ३८ रनमा बोल्ड आउट गर्दै उक्त साझेदारी तोडेका थिए । स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
दोस्रो विकेटका लागि धवन र कप्तान श्रेयस एरेले ४० रनको साझेदारी गरेका थिए । जेसन होल्डरको १४ औं ओभरको अन्तिम बलमा ऐर मनिष पान्डेबाट २१ रनमा क्याच आउट भए । ऐरले २० बलमा १ चौका प्रहार गरे । धवन सन्दीप शर्माको १९ औं ओभरको तेस्रो बलमा एलबिडब्लू आउट भएका थिए । फुलटस बलमा ठूलो सट खेल्ने धुनमा मिस भएपछि एलबिडब्लू आउट हुन पुगेका थिए । तेस्रो विकेटका लागि धवन र हेटमायरले ५२ रनको साझेदारी गरेका थिए ।
राशिद खानले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।


