कोरोना संक्रमणबाट पूर्वसभासद चौधरीको मृत्यु, प्रचण्डद्वारा दु:ख व्यक्त

कोरोना संक्रमणबाट पूर्वसभासद चौधरीको मृत्यु, प्रचण्डद्वारा दु:ख व्यक्त
Spread the love

सप्तरी, कार्तिक ११ (ई-रैवार) 

संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ । सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।

ज्वरोबाट पीडित ५५ बर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन ।

पछिल्लो दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ रिपोर्ट आएको थियो ।

पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भएको कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्रले जानकारी दिए । कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक डम्बर गुप्ताका अनुसार चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

चौधरी नेकपाका प्रदेश नम्बर २ कमिटीका सदस्य पनि हुन् । उनको निधनप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन् । उनले भनेका छन्, “संविधानसभा सदस्य तथा हाम्रो पार्टीका २ नं. प्रदेश कमिटी सदस्य कमरेड मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण असामयिक निधन भएको खबर पाउँदा दुखित छु ।”

नेकपाका अध्यक्ष  प्रचण्डले एक विज्ञप्तीमार्फत भनेका छन्, “दिवंगत कमरेड चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।”

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।