काठमाडौं, असार २९ (ई–रैवार)
कांग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौपटक प्रधानमन्त्री बन्दैछन् । सर्वोच्चको आदेशपछि राष्ट्रपति कार्यालयले आजै देउवालाई प्रधानमन्त्री नियुक्ति र शपथको तयारी गरेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार कांग्रेस सभापति देउवालाई आज साँझ ५ बजे शपथ ग्रहणको कार्यक्रम रहेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लागेका हुन् ।
सर्वोच्च अदालतको परमादेशअनुसार देउवा आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति कार्यालयले सपथका लागि खबर गरिसकेकाले आजै ५ बजे सपथ ग्रहरणको तयारी भएको कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेस सभापति देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हो ।
देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।
विपक्षी गठबन्धनमा रहेका पाँच दलमध्ये एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको पक्षमा लाग्ने बताएका छन् भने बाँकी दलका तर्फबाट सात सदस्यीय मन्त्रिपरिषद् प्रस्ताव देउवाले गरेका छन् ।
आफ्नो पार्टीमा रामचन्द्र पौडेल समूहसहितको प्रतिनिधित्व गराएर दुई मन्त्री बनाउन लागेका देउवाले माओवादीलाई दुई मन्त्री दिन आग्रह गरेका छन् ।
यस्तै जनता समाजवादी पार्टीलाई कम्तिमा एकजना दिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सुरुदेखि नै ५ दलीय गठबन्धनमा आवद्ध भएको राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।
सरकारमा सहभागी हुने र नाम दिने विषयमा भने सम्बन्धित दलहरुले बैठकबाट निर्णय गर्न बाँकी नै छ । जसपाका तीन नेता उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईको बैठक अहिले केहिबेरमा बस्दैछ । शीर्ष नेताको बैठकपछि उपलब्ध कार्यकारिणी समितिको बैठक बस्ने नेताहरुले जानकारी दिएका छन् ।
सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो। मंगलबार बिहान बस्ने विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्ने भएको छ।
संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ।


